महिलाले हाकेको खानीडाडाको नमूना सहकारी

1
VIEWS

खानीडाडा (कैलाली) । स्वावलम्बी साना किसान महिला सहकारी संस्थाकी अध्यक्ष शान्ति बोहरालाई ४ बर्ष अघिसम्म मान्छेहरुका अघि उभिएर परिचय दिन आपत पर्थ्यो । तर अहिले उनी खानीडाडा क्षेत्रका साढे ४ सय महिलाको नेतृत्व गरेर हिड्न सक्ने भएकी छिन् २०७४ मा स्थानीय ३१ जना महिलाबाट ५ हजार उठाएर सुरु भएको थियो सहकारी । दर्ता भएलगत्तै स्थानीय सरकार आयो । त्यसयता बोहरा लगायतका महिलाहरुले सहकारीका सेयर सदस्य बढाउँदै लगे । हाल ४ सय २१ जना सेयर सदस्य छन् ।

४ बर्षको अवधिमा सहकारीको कारोबार ४० लाख बढी छ । बचत, ऋण तथा कृषि क्षेत्रमा काम गरिरहेको सहकारीले छिट्टै रेमिटान्स सेवा सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि कम्प्युटर, प्रिन्टर लगायतका उपकरण तयारी अवस्थामा छन् । महिला नेतृत्वको सहकारी यहाँसम्म आइपुग्नुमा के शान्ति बोहरा लगायतको मात्र प्रयास हो ? होइन् ।

उनिहरुलाई यहाँसम्म ल्याइपु-याउन गाउँपालिकाको साँझेदारीमा ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजना (आरभिडब्ल्यूआरएमपी) ले हातेमालो गरेको छ । ‘गठन हुँदा आवश्यक कागजी प्रक्रियादेखि सम्पूर्ण बाटो देखाउने काम आरभिडब्ल्यूआरएमपीले गरेको थियो,’ अध्यक्ष बोहरा भन्छिन्, ‘सहकारी जन्माएकै परियोजनाले हो । सहकारीको आमाबुवा भनेकै परियोजना हो ।’

परियोजनाको सहयोगमा सहकारीले खानीडाडा आसपासका कृषकहरुलाई ३ बर्ष अघि ७८ पोलिहाउस वितरण गरेको थियो । त्यसपछि गत बर्ष ३० वटा र यो वर्ष १७ वटा पोलिहाउस किसानहरुका करेसाबारीमा पुगेका छन् ।

परम्परागत तरकारी खेतीलाई बढी उत्पादनमूलक बनाउन र नयाँ प्रविधीको प्रयोग गर्न पोलिहाउस वितरण गरिएको परियोजनाका चुरे गाउँपालिका अधिकृत पुर्णानन्द अवस्थी बताउँछन् । कृषकहरुको तरकारी व्यवस्थापनमा सहज होस् भनेर परियोजनाले खानीडाडा नजिकै संकलन केन्द्र बनाइदिएको छ ।

कृषकहरुलाई विभिन्न घरेलु बिषादी बनाउने देखि उन्नत जातका बिउ उपलब्ध गराउने गरिएको परियोजनाका कृषि प्राविधिक हेमराज जोशीले बताए । सहकारीमा अहिले २ जना महिला कर्मचारी छन् । थप १ जना तरकारी संकलनकर्ता राख्ने तयारी भएको छ । सहकारीले धेरै महिलाको जीवनमा परिवर्तन ल्याएको छ ।

No description available.सुरुवातीमा आफ्नो परिचय दिन नसक्ने महिलाहरु हाल आएर हरेक ठाउँमा गएर बोल्न सक्ने, तरकारी उत्पादन गरेर बेच्ने, सहकारीमा आउने, हिसाब आफै गर्ने, गाउँ गाउँमा सहकारी शिक्षा दिन थालेको अध्यक्ष बोहराको भनाई छ । सहकारीकै माध्यमबाट अहिले धेरै कुरा सिक्न पाएको सह प्रवन्धक पानसरा धामी बताउँछिन् । ‘सहकारीबारे बिभिन्न तालिम लिएपछि धेरै कुरा बुझियो,’ उनि भन्छिन ‘सहकारीको भवन बन्या छ, संकलन केन्द्र बन्या छ । सहकारी धेरै महिलाको आय आर्जन गर्ने बाटो बनेको छ ।’

सहकारीमा १ बर्ष अघिसम्म हातले नै लेखेर कारोवार गर्ने भएपनि हाल कम्प्युटर प्रविधी प्रयोगमा आएको धामी बताउँछिन । ‘परियोजनाले नै कम्प्युटर, प्रिन्टर लगायतका उपकरण सहयोग गरेको छ । अहिले कम्प्युटर प्रविधी मार्फत सहकारी चलेको छ,’ उनले भनिन् ।

सुरुदेखि नै परियोजनाले सहयोग गर्दै स्थानीय महिलाहरुलाई सहकारीको नेतृत्व गर्न सक्षम बनाएको सहकारीकि व्यवस्थापक राधा भाँटले बताइन् । सहकारीबारेमा थाहा पाएपछि गाउँघरमा समूह बनाएको उनको भनाई छ । ‘हाल १९ वटा समूह सहकारीमा आवद्ध छन् । प्रत्येक समूहमा मासिक रुपमा बचत गर्ने गरिएको छ,’ उनी भन्छिन्, ‘समूह बचत नै २० लाख पुगेको छ ।’ समूहसँगै दैनिक रुपमा अन्य ब्यक्तिहरुले बचत गर्दै आएको उनले बताइन् । जसबाट ११ लाख बचत भएको छ । त्यस्तै बालबालिकाहरुका लागि पनि सहकारीले बचत गर्ने गरेको छ ।

निकट भविस्यमा जग्गा भाडामा लिएर सहकारी आफैले तरकारी खेती गर्ने तयारी रहेको अध्यक्ष बोहराले बताईन । सहकारीले परियोजनाको सहयोगमा पुर्ण सरसफाईका क्रियाकलापहरु, चाङ, जुठ्यान, सुधारिएको चुलो लगायतका काममा समेत सक्रिय रहेको परियोजनाको अधिकृत अवस्थी बताउँछन् । उनले सुन्तलाको मुल्य श्रृंखला, आधुनिक घट्ट, साना सिचाई निर्माण समेत सहकारीकै अगुवाईमा भइरहेको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार