भारत जोडो’ यात्राले सिर्जना गरेको वैकल्पिक राजनीति

9
VIEWS
२०७९ पौष २९

भारतका श्रद्धेय स्वतन्त्रता नायक मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) को अनुकरण गर्दै मुख्य विपक्षी नेता हाल उपमहाद्वीप हिँडेरै पार गर्ने विशाल सार्वजनिक पदयात्राको अन्तिम चरणमा छन् । स्वतन्त्रता सेनानी गान्धीसँग कुनै पारिवारिक सम्बन्ध नरहेका राहुल गान्धीले आलोचकका टिप्पणीका बाबजुद तीन हजार पाँच सय किलोमिटर पैदलयात्रा गरी एक सफल राजनीतिक विरोध परिचालन गरेर देखाएका छन् । पछिल्ला तीन महिनायता राहुल गान्धी नेतृत्वको भारत जोडो यात्रामा भारतभरि उत्साहजनक सहभागिता देखिन्छ । अन्तिम चरणको यात्रा मंगलबार राति पन्जाब प्रवेश गरेको छ र भारत प्रशासित कस्मिरका अग्ला चुचुरामा गएर टुंगिनेछ ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका विपक्षी एवं भारतीय राष्ट्रिय कंग्रेसका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) को सख्त राजनीतिक हिन्दूवाद वा हिन्दुत्वविरुद्ध नयाँ राजनीतिक दृष्टिकोण एवं भाष्य प्रवाह गर्दै छन् । सामान्यतया यात्राले हिन्दू तीर्थयात्रा जनाउँछ, तर यो यात्रा राजनीतिक पुनर्जागरणका लागि गरिँदै छ । दश वर्षसम्मको चुनावी असफलताले निष्क्रिय बनेको कंग्रेसलाई यो यात्राले पुनः ऊर्जा दिएको छ । भाजपाद्वारा अनुभव नभएको भन्दै निर्दयी ढंगले मजाकका पात्र बनाइएका गान्धी अहिले वजनदार नेता बनेका छन् ।

अन्तरधार्मिक सहयोग एवं समृद्धिको सरल सन्देश दिँदै यो यात्रा आमजनका वार्तालापसँग जोडिएर अगाडि बढिरहेको छ । हरेक दिन हरेक चोकमा गान्धीले किसान, श्रमिक, युवा, वृद्ध र बालबालिकासँग मोदी सरकारले उनीहरूका सपना एवं अपेक्षामा कसरी कुठाराघात गर्दै छ भनेर संवाद गर्छन् । गान्धीका कार्यकर्ता यी संवादलाई सामाजिक सञ्जालमा पोस्ट गर्छन् । पोस्ट भएका संवाद भारतीय अर्थतन्त्रको जीवन्त यथार्थ हुन्, जहाँ सरकारले वाचाका डिङ हाँक्छ, तर वाचा कहिल्यै पूरा हुँदैनन्, अर्थात् बेरोजगारी एवं मूल्यवृद्धिले आकाश छोइरहेछ ।

गान्धी मोदीको उत्कट हिन्दुत्वले भारतको आर्थिक र सामाजिक क्षमतामा क्षति पुर्‍याइरहेको छ भन्ने सन्देश दिइरहेका छन् । दाह्रीवाल गान्धीसँग तस्बिर खिच्न र अँगालो मार्न गरिने तँछाडमछाडले मोदीको एकाधिकार बनेको राजनीतिक चर्चा र मिडियाबाजीमा विराम लागेको छ । सत्तामा पुगेयता मोदी पहिलोपटक मौन छन् । निश्चय नै यसले बहुसंस्कृति वा धर्मनिरपेक्ष राजनीति र हिन्दू सर्वोच्चतावादी नीतिको टकराव झल्काउँछ । अर्थात्, यात्राले दुई फरक व्यक्तित्वले भारतीय जनमानसलाई परिचालन एवं ध्रुवीकृत गर्दै छन् भन्ने देखाउँछ ।

मोदी र भाजपाले लामो समयदेखि भारतको धर्मनिरपेक्ष राजनीतिमा निसाना साँध्दै आइरहेका छन्, अर्थात् गान्धी परिवारको रजगजतर्फ औँला तेस्र्याउँदै भ्रष्टाचार र पतनलाई मूर्त रूप दिएको र अन्तर्राष्ट्रियस्तरमा भारतलाई उचित भूमिकाबाट वञ्चित गराएको भन्दै आलोचना गर्छन् । स्मरण रहोस्, राहुलका जिजुहजुरबुबा जवाहरलाल नेहरू, हजुरआमा इन्दिरा गान्धी र बुबा राजीव गान्धी भारतका प्रधानमन्त्री भइसकेका छन् । मोदीले सन् २०१४ र २०१९ मा भारी बहुमतसाथ सानदार विजय हासिल गरेका छन् र मोदी नेतृत्वको यो हिंस्रक हिन्दुत्व आन्दोलनलाई गान्धी परिवारजस्ता राजनीतिक सम्भ्रान्तप्रतिको आक्रोशले मलजल गरेको हो ।

दाह्रीवाल राहुल गान्धीसँग तस्बिर खिच्न र अँगालो मार्न गरिने तँछाडमछाडले मोदीको एकाधिकार बनेको राजनीतिक चर्चा र मिडियाबाजीमा विराम लागेको छ

नतिजा, मोदीले आफूलाई यी सम्भ्रान्तका विकल्प एवं सर्वशक्तिमान् नेता बनाउन सक्षम भएका छन् । आज मोदी कानुनदेखि राजनीतिक भाष्यसम्म ‘हिन्दू पहिलो’ एजेन्डाको प्रतिनिधित्व गर्छन् । सांस्कृतिक एकरूपताका लागि मोदीको अभियानले भारतलाई पुनर्निर्माण गर्ने उद्देश्य राखेको छ, जहाँ नागरिकतामा धार्मिक भेदभाव स्थापित गर्नेदेखि अल्पसंख्यकविरुद्ध नियमित हिंसा थोपर्नुसम्म रहेको छ ।

५२ वर्षीय राहुल गान्धीलाई वंशवादको चौथो पुस्ता भनेर लामो समयदेखि अपमान गरिँदै आएको छ । तर, त्यही पारिवारिक विरासतकै कारण गान्धीलाई सत्ता र राजनीतिक हिंसाबारे गहिरो ज्ञान छ । गान्धीका हजुरआमा र बुबा दुवैको हत्या गरिएको हो । राजनीतिक तडकभडक र सत्ताकांक्षाबाट बाहिर निस्केर गान्धीले आश्चर्यजनक ढंगले आफूलाई जनसाधारणमाझ जोड्ने प्रयास गरिरहेका छन् ।

गान्धीले मोदीको बलियो कार्यनीतिलाई साझा जोखिमको शक्तिले मात्र सामना गर्न सकिन्छ भन्ने बुझेका छन् । अर्थात् उनले यो शक्तिले हिन्दुत्वप्रति पूर्ण प्रतिबद्धता नभएका सबै र भारतीय तन्त्रबाट पिल्सिएकालाई एकै ठाउँमा ल्याउन सकिन्छ भन्ने बुझेका छन् । मोदीले सत्ता र लोकरिझ्याइँका माध्यमबाट राजनीतिक शक्ति हासिल गरेका थिए भने गान्धी समानुभूतियुक्त संवादबाट राजनीतिक शक्ति हासिल गर्न खोजिरहेका छन् ।

भारतका विभिन्न तप्कामाझ एकता होस् भनेर गरिएको यात्राले निडरताको राजनीतिलाई बलियो बनाउनुपर्छ भन्ने सन्देश दिन्छ । यो सन्देश दिइरहँदा यात्राले भारतको आधारका रूपमा रहेको बहुलता एवं समताको खोजी गरिरहेको छ । महत्वपूर्ण रूपमा यात्राले प्रेम, समानुभूति र हिंसा एवं पहिचानको वर्चस्वशाली भाष्यविरुद्ध लड्ने जोस एवं त्याग झल्काइरहेको छ ।

करिब एक शताब्दीअगाडि राष्ट्रपिता महात्मा गान्धीको प्रसिद्ध नुन यात्राले बेलायती साम्राज्य र भारतीय राजनीतिक सम्भ्रान्त वर्गलाई चुनौती दिएको थियो । महात्मा गान्धीले राजनीतिक अभिलाषा एवं सत्तामोह त्यागेर आम–भारतीयमाझ वीरतापूर्ण आशाको ज्योति बालेका थिए । उनी राजनीतिको रूपान्तरण र राजनीतिक सम्बन्धको पुनः परिभाषा खोज्दै थिए र सफल पनि भए । राष्ट्रपिता गान्धी र राहुल गान्धीको तुलना गर्नु धृष्टता हुनेछ । आज विदेशी साम्राज्यवादी शक्तिलाई देशबाट हटाउनु मुद्दा होइन । आजको आन्तरिक मुद्दा भारतीय भविष्यको पहिचानसँग जोडिएको छ ।

मोदी र भाजपा राजनीतिको विकल्प खडा गरेर भारत जोडो यात्राले सन् २०२४ को राष्ट्रिय चुनावमा प्रतिस्पर्धाको रेखा कोरिदिएको छ । करिब १० वर्ष मोदी र हिन्दुत्वको प्रभुत्वमा रहेपछि भारतीय लोकतन्त्र अब दर्शन, भावना र व्यक्तित्वको वास्तविक टकरावका लागि तयार हुन सक्छ ।

(कपिला क्याम्ब्रिज विश्वविद्यालयमा भारतीय राजनीति एवं इतिहासकी प्राध्यापक हुन्) अल जजिराबाट साभार

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार