संघर्षसील नेतृ सुनिता यादवकी फरक चिनारी

1
VIEWS

 ४ पुष, २०७९

यहाँसम्मको यात्रालाई पार्टीले गरेको मूल्यांकनलाई दाया मायाको होइन, पार्टीमा गरेको योगदानलाई कदर गर्दै दिएको जिम्मेवारी हो, केही दिन पहिले माओवादी केन्द्रको हेडक्वाटर पेरिसडाँडा कोटेश्वरको चौरमा भेटिनु भएका सुनिता यादवले भन्नुभयो, ‘सहिद परिवारका सदस्य भएको नाताले उहाँलाई केही पद दिहालौं केही जिम्मेवारी दिहालौं भनेर यदि पार्टीले दिन्छ भने त्यसमा मेरो असहमति हुन्छ, पार्टीमा मेरो आफ्नै योगदान छ, त्यसको मूल्यांकन गरेर पार्टीले जिम्मेवारी दिनुपर्छ ।’

उहाँले अगाडि भन्नुभयो, ‘माओवादी जनयुद्धमा मेरो परिवारको योगदान छ पार्टीले त्यसको कदर गर्नुपर्छ, जेका लागि हाम्रो परिवारले योगदान दियो त्यो पुरा हुनुपर्छ र म पनि माओवादी र मेरो परिवारले देखेको सपना पूरा गर्न संघर्ष गरिरहेको छु र गरि नै रहने छु ।’

सुनिता यादव सहिद रामवृक्ष यादव र माओवादीका नेतृ रामकुमारी यादवको छोरी हुनुहुन्छ । उहाँका तीनजना दीदी र एकजना दाजु हुनुहुन्छ । दीदी बोधमाया यादव र सुधा यादव पनि माओवादीमा सक्रिय हुनुहुन्छ भने दाजु शेखर यादव माओवादी जनयुद्धमा सहिद हुनुभएको छ । दिदी कल्याणी यादव माओवादीसँग जोडिनु भएको छ तर उहाँ गृहणी हुनुहुन्छ ।

परिवारमा हत्याको शृङ्खला
जनयुद्ध सुरु हुनुभन्दा पहिले नै २०५१ सालमा उहाँको बुवा रामवृक्ष यादव (मास्टर साहब) को राज्यको तर्फबाट हत्या गरिएको थियो भने जनयुद्धमा लागेपछि २०५८ पुस १५ गते सुनिता यादवका दाजु शेखर यादवको पनि हत्या गरेको थियो । त्यति मात्र होइन, २०६१ सालमा सुनिता यादवका श्रीमान डम्बर यादवलाई पनि राज्यको तर्फबाट हत्या गरिएको सुनिता यादवको दावी छ ।

जनयुद्धको तयारी चलिरहेको बेला नै राज्यको तर्फबाट षड्यन्त्रपूर्वक मेरो बुवाको हत्या गरिएको थियो, सुनिता यादव भन्नुहुन्छ, ‘जतिबेला मेरो बुवाको हत्या भयो म त्यतिबेला सात वर्षको थिए पार्टीले (तत्कालिन जनमोर्चा) ले जनयुद्धको तयारी गरिरहेको थियो जनयुद्धलाई रोक्नका लागि मेरो बुवाको हत्या गरिएको थियो ।’

त्यतिबेलादेखि नै आफ्नो परिवार भूमिगत हुन थालेको बताउँदै उहाँले तराई मधेशमा सबभन्दा बढी आफ्नो परिवारलाई नै राज्यले टार्गेट गरेको थियो त्यसले गर्दा आमाले आफ्ना छोराछोरीलाई लिएर भूमीगत हुँदै जनयुद्धमा होमिनु भएको बताउनुभयो ।

नेपाल–भारतको जयनगर बोर्डरमा आफ्नो दाइ शेखर यादवलाई प्रहरीले समातेको थियो र, धनुषाको खजुरी बोर्डरमा ल्याएर उहाँलाई गोली हानेर मारेको सुनिता यादवको दावी छ । प्रहरीले समात्ने बित्तिकै शेखरलाई हत्या गरेको थियो तर प्रहरीले त्यसलाई दोहोरो भिडन्तको नाम दिएको थियो, सुनिता यादवले भन्नुभयो, ‘मेरो दाजुलाई मारेपछि घरका अन्य सदस्यलाई प्रहरीले खोजिरहेको थियो, प्रहरीले मेरो परिवार नै सखाप पार्ने योजना बनाएको थियो त्यही योजना अनुसार मेरो श्रीमान डम्बर यादवलाई पनि हत्या गर्यो ।’

सप्तरीको अरहामा सेनाले उहाँलाई समातेर यातना दिएर गोली हानी हत्या गरेको सुनिता यादवको दावी छ । प्रहरीको खोजीको सूचीमा आमा तथा दिदीहरु पनि हुनुहुन्थ्यो तर आमाले भूमीगत भएर आफूहरुको ज्यान जोगाएको बताउँदै सुनिता यादवले भन्नुभयो, ‘हामी पनि झण्डै झण्डै बाँचेका हौ । बाँकी जीवन नाफाको जीवन बाँचिरहेका छौं ।’
२०६७ साउन २९ गते सुनिता यादवको आमा रामकुमारी यादवको पनि निधन भयो । काठमाडौँमा भाडाको घरमा खाना पकाउने बेला ग्यास पड्केपछि उहाँको आमाको निधन भएको थियो ।

भूमीगत शिक्षा
सुनिता यादव त्रिभुवन विश्व विद्यालयबाट पोल्टिकल साइन्समा मास्टर्ससम्म गर्नुभएको छ । एलएलबी अध्ययन उहाँको जारी छ । बरमझियाको प्राविमा उहाँ दुई कक्षामा पढी रहँदा आमासँग उहाँलाई पनि भूमीगत हुनुपरेको थियो । त्यतिबेला राज्यका यस्तो आतङ्क थियो आमाले आफूहरुलाई साथमा लिएर विभिन्न ठाउँ परिवर्तन गर्ने गरेको बताउँदै उहाँले जहाँ जहाँ ठाउँ परिवर्तन हुन्थ्यो त्यहीको स्कूलमा आफूले नाम लेखाएर पढाई सुरु गर्ने गरेको बताउनुभयो ।

आमासँग भूमीगतकालमा ठाउँ फेरि रहनु परेको कारणले उहाँले कुनै पनि स्कूलमा राम्रोसँग पढ्न पाउनु भएन । उहाँ कुनै पनि स्कूलमा पुरा अध्ययन गर्नुभएन । धनुषाको बरमझिया छाडेपछि सुनिताले सिरहाको मिर्चैयामा न्यु चिल्ड्रेन स्कूलमा तीन कक्षासम्म एक वर्ष पढ्नुभयो । त्यसपछि सोही ठाउँको सगरमाथा स्कूलमा चार कक्षासम्म पढ्नुभयो । सिरहाको विष्णुपुरमा रहेको सनराईज स्कूलमा पाँच कक्षासम्म अध्ययन गर्नुभएका सुनिता यादवले गौरीपुरको हाइस्कूलमा एकैपटक सात कक्षामा नाम लेखाउनुभयो ।

आठ कक्षामा अध्ययन गरिरहँदा देशमा माओवादी जनयुद्धका कारण संकटकाल लाग्यो । त्यसपछि सुनिताको पढाईमा पुरै ब्रेक लाग्यो । दुई वर्षसम्म उहाँले स्कूलको मुख समेत हेर्नुभएन । पार्टीको काममा लुकी लुकी हिड्नु पथ्र्यो । कहिले काही त उहाँले आमाको साथ छाडेर महिनौंसम्म एक्लै बस्नुपथ्र्यो कहिले कुन आफन्त कहाँ त कहिले कुन आफन्त कहाँ गएर बस्नु पथ्र्यो ज्यान बचाउन उहाँलाई मुस्किल भइरहेको थियो ।

त्यसपछि उहाँले गौरीपुरको स्कूल छाडेर सिरहाकै पोखरभिण्डाको मावि स्कूलमा नौ कक्षामा नाम लेखाउनुभयो । २०६३ मा माओवादी शान्ति प्रकृयामा आएपछि मात्र उहाँले एसएलसी दिन पाउनुभयो । र उहाँले एसएसली पास पनि गर्नुभयो ।

माओवादी शान्ति प्रकृयामा आएपछि अन्तिरम संसद गठन भएको थियो । सुनिताका आमा रामकुमारी यादव पनि अन्तरिम सांसद हुनुभएको कारणले उहाँलाई काठमाडौँ आउनु पर्यो । सुनिता पनि साथमा काठमाडौँ आउनुभयो । आमासँग काठमाडौँमा बस्न थालेपछि त्यहाँ प्लस टुमा नाम लेखाउनु भयो । २०६७ मा प्लस टु पास गरेपछि उहाँले काठमाडौकै आरआर क्याम्पसमा पोल्टिकल साइन्स र मेजर अँग्रेजी लिएर ब्याचलरमा नाम लेखाउनुभयो । २०७३ मा उहाँ ब्याचल पास गरेपछि प्राइभेटबाट पोल्टिकल साइन्समा मस्टर्स अध्ययन गर्नुभयो । उहाँले २०७५ मा मास्टर्स पनि गर्नुभयो ।

त्यसपछि उहाँले एलएलबीमा नाम लेखाउनुभयो । पढेर परीक्षा दिनुभयो । केही विषयमा ब्याक लागेको छ त्यसको तयारीमा उहाँ लाग्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, ‘मैले अहिलेसम्म जति पढेको छु ती सबै स्वअध्ययनबाट नै पढेको छु । आमासँग भूमीगत हुँदाको बखत स्कूल जाने कुरा हुँदैन्थ्यो नाम लेखाउँथे यसो कहिले काहीँ जान्थे नत्र घरमै पढ्थे । परीक्षा पनि लुकीछिपी दिन्थे ।’ भूमीगत हुँदा न कोही पढाउनेबाला हुन्थ्यो, कोही गाइड गर्नेबाला । आफूलाई जेजे जानकारी हुन्थ्यो स्वयंअध्ययन गर्थे र परीक्षा दिन्थे । एसएलसीसम्म रेगुलर पास गरेको उहाँले बताउनुभयो ।

पार्टीको जिम्मेवारी
माओवादी शान्ति प्रकृयामा आएपछि आमासँग काठमाडौँ बस्न थालेपछि सुनिता यादव पार्टीको काममा जिम्मेवारी लिएर खटिन थाल्नुभयो । एसएलसीसम्म भूमीगत भएको कारण स्कूल गएर पढ्न सक्नु भएन शान्ति प्रकृयामा आएपछि पार्टीले जिम्मेवारी दिएपछि कलेज गएर पढ्न सक्नुभएन ।

पार्टीमा होलटाइमर जस्तै काम गर्न थाल्नुभयो । तर घरमा स्वयंअध्ययन गर्न कहिले छाड्नुभएन । घरमै अध्ययन गरेर उहाँ मास्टर्ससम्म गर्नुभयो । एलएलबीको अध्ययन जारी राख्नुभएको छ । राम्रसँग अध्ययन गर्न नपाएको कारण कहिले काहीँ कलेजमा उहाँलाई कुनै विषयमा ब्याक लाग्थ्यो । तैपनि उहाँले आफ्नो पढाईलाई निरन्तरता दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले अध्ययन जागिर खान वा सर्टिफिकेटका लागि होइन, आफैले आफूलाई जाँच्नका लागि गरेको हुँ । अध्ययन गरेपछि पास गर्न सक्छु कि सक्दिन भनि जाँच्नका लागि मैले परीक्षा दिन्थे र पास पनि हुन्थे ।’ अर्थात सुनिताले आफ्नो जीवनको स्वयं परीक्षा लिनुहुन्थ्यो ।

बच्चामै आमासँग भूमीगत हुँदा सुनिताले पार्टीका लागि काम गर्न सुरु गरिसक्नुभएको थियो । साँस्कृति कार्यक्रमहरुमा भाग लिने, क्रान्तकारी गीत गाउने, नाच्ने कार्य सुनिताले गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘आमासँग मैले पार्टीको काम सुरु गरिसकेका थिए तर २०५७÷०५७ तिर कक्षा ७ मा हुँदा नै अनेरास्ववियु क्रान्तकारीको सदस्यता लिएका थिए ।’

त्यसपछि पार्टीले जिम्मेवारी दिएको ठाउँमा उहाँ खटिन थाल्नुभयो । २०५७ सालतिरको कुराको हो । उहाँलाई मकवानपुरतिर पार्टीले खटाएको थियो । उहाँको आमा भारत विहारको पटनामा हुनुहुन्थ्यो । आमालाई भेट्नका लागि उहाँ पार्टीकै सहकर्मी तारा घर्तीसँग पटनाका लागि हिड्नुभयो । पहाडी समुदायको केटीसँग एउटा मधेशी केटी यसरी बोर्डर क्रस गर्न लागेको सुराकी प्रहरी कहाँ पुग्यो तर त्यो सुराकी माओवादीको विषयमा थिएन, महिला बेचबिखनको विषयमा थियो ।

तारा घर्तीले सुनितालाई बेच्नका लागि भारत गइरहेका छन् भनि प्रहरीले कहीबाट थाह पाएर बोर्डर क्रस गर्ने बेलामा उहाँहरुलाई समात्यो । उहाँहरुलाई समातेर माइती नेपाललाई बुझाई दियो । माइती नेपालले उहाँहरुलाई बसमा हालेर काठमाडौँ लग्ने क्रममा तारा घर्ती बाटोमा बसबाट झरेर भाग्नु भयो तर सुनिता यादव भाग्न सक्नु भएन । सुनितालाई काठमाडौँको माइती नेपालमा राख्यो । पछि मात्र नेपाली सेना तथा प्रहरीले थाह पाए कि सुनिता माओवादी हुनुहुन्छ । रामकुमारी यादवकी छोरी हुनुहुन्छ ।

त्यसपछि नेपाली सेनाले सुनिता आफूलाई सुम्पिन्न माइती नेपाललाई दवाव दिन थाल्यो । उता, माओवादीले पनि यो कुरा थाह पाएपछि सेना तथा प्रहरीलाई नबुझाउन माइती नेपाललाई दवाव दिन थाल्यो । सुनितालाई प्रहरी तथा सेनालाई सुम्पियो भने कारवाही गरिने भनि माओवादीले माइती नेपाललाई धम्की पनि दिएको थियो । पछि माइती नेपालले सुनितालाई मकवानपुरमा लगेर पार्टीको सम्पर्कमा छाडेको थियो ।

सुनिता पार्टीको सम्पर्कमा रहेर करिब दुई महिनासम्म सोही क्षेत्रमा काम गर्नुभयो । त्यसपछि उहाँका आमा भारतबाट नेपाल आएपछि मात्र उहाँहरुको बीचमा भेटघाट भएको थियो ।

पार्टीले सुनितालाई सप्तरी पठायो । सुनिता त्यहाँ गएर पार्टीको काम गर्न थाल्नुभयो र त्यही बेला सप्तरी जिल्ला कमिटीको सदस्य पनि बन्नु भएको थियो । डम्बर यादवसँग उहाँको चिनजान त्यही भएको थियो । डम्बर पनि माओवादी पार्टीका सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो । दुवैजनाको कार्यक्षेत्र एउटै थियो । एक अर्कालाई उहाँहरुले मन पराउनुभयो र २०६० माघ ११ गते उहाँहरुको बीचमा विवाह सम्पन्न भयो ।

सुनिता त्यही सप्तरीलाई नै कार्यक्षेत्र बनाएर काम गर्न थाल्नुभयो । विहे भएको एक वर्षपछि नेपाली सेनाको हातबाट डम्बर यादव मारिनुभयो ।

तैपनि सुनिता यादवको यात्रा डगमगाएन । जनमुक्तिको लडाईमा एउटा जीवन साथी गुमाएको पीडा सुनितासँग थियो तर उहाँले त्यो बाहिर पोख्नु भएन । पार्टीमा डम्बर यादवले पाएको जिम्मेवारी सुनितालाई सुम्पियो । उहाँलाई सप्तरी क्षेत्र नम्बर ५ को क्षेत्रीय इन्चार्जको जिम्मा दियो । त्यही बेला उहाँ माओवादी पार्टी जिल्ला (सप्तरी) सचिवालय सदस्य पनि बन्नुभयो ।


उहाँ सप्तरीमा कार्यरत रहँदा माओवादी शान्ति प्रकृयामा आयो । उहाँ आफ्ना आमासँग काठमाडौँ आउनुभयो । त्यसपछि उहाँ निरन्तर काठमाडौँ केन्द्रीत भएर नै पार्टीमा रहेर काम गर्न थाल्नुभयो । जिल्ला कमिटी सदस्यदेखि लिएर पार्टीले दिएको अन्य जिम्मेवारीमा रहेर उहाँले काम गर्नुभयो । २०६५ मा रौतहटका रामानन्दप्रसाद यादवसँग उहाँको दोस्रो जनवादी विवाह गर्नुभयो । रामानन्द पनि माओवादी हुनुहुन्छ । पेसाले उहाँ इन्जिनियर हुनुहुन्छ । काठमाडौँमा उहाँको आफ्नै कन्सल्टेन्सी छ ।

सुनिताको जीवन खुशीका साथ बितिरहेको थियो त्यही बेला उहाँको जीवनमा अर्को ब्रजपात आइपर्यो । २०६७ मा ग्यास सिलिण्डर पड्केर उहाँको आमाको निधन भयो । सुरुमा बुवा, त्यसपछि दाइ, त्यसपछि पहिलो श्रीमान अनि आमा गुमाएपछि सुनितालाई निकै पीडा भयो । बुवा नहुँदा आमाले सबै स्याहार सुसार गर्नुभयो । सुनितालाई बुवाको अभाव कहिले महसुस हुन दिइरहनु भएको थिएन । त्यो आमा पनि छाडेर गएपछि उहाँलाई बिल्कुल एक्लो महसुस भइरहेको थियो । तर उहाँले आफूलाई सम्हाल्नुभयो, आफूलाई पार्टीमा सक्रिय गर्नुभयो ।

वैद्य समूह अलग
२०६९ असारमा तत्कालिन एकीकृत माओवादी विभाजन भयो । सो पार्टीबाट मोहन वैद्य ‘किरण’ अलग भएर नेकपा माओवादी गठन गर्नुभएको थियो । माओवादीमा रहनु भएका सुनिता यादव मोहन वैद्यको पार्टीमा जानुभयो । मोहन वैद्य जे विचार र सिद्धान्तमा अडिग रहेर पार्टीबाट अलग हुनुभएको थियो त्यो मन पराएर सुनिता वैद्य पक्षमा लाग्नुभएको थियो ।

सुनिताले भन्नुभयो, ‘वैचारिक हिसाबले वैद्य ठिक छ भनि लागेर उहाँको साथमा गएको थिए ।’
मोहन वैद्यले सुनितालाई धनुषा जिल्लाको इन्चार्ज बनाएर पठाउनु भएको थियो । सुनिता काठमाडौँ छाडेर धनुषा जानुभयो । त्यहाँ संगठन निर्माणदेखि लिएर पार्टीले दिएको निर्देशनअनुसार उहाँले काम गर्नुभयो । ६ महिनासम्म धनुषामा काम गर्नुभयो ।

२०७३ मा वैद्यको पार्टीबाट रामबहादुर थापा ‘बादल’ समूहले प्रचण्ड नेतृत्वको तत्कालिन एकीकृत माओवादी केन्द्रसँग एकता गरेपछि सुनिता यादव पनि प्रचण्ड नेतृत्वको पार्टीमा फर्किनुभयो । त्यतिबेला पार्टीमा सुनितालाई पोलिटब्युरो सदस्यको जिम्मेवारी दिएको थियो । त्यसका साथै पूर्वी सम्पर्क समितिको इन्चार्जको पनि जिम्मेवारी दिएको थियो । त्यसमा प्रदेश १, मधेश प्रदेश र वागमती प्रदेश पनि थियो ।


२०७४ मा आमचुनाव भएको थियो । चुनावमा एमाले र माओवादीबीच वामगठबन्धन बनेको थियो । त्यसमा सुनिता यादवको नाम समानुपातिक उम्मेदवारको बन्द सूचीमा राखिएको थियो । तर प्राथमिकतामा सुनिताको नाम नराखिएको कारण उहाँ समानुपातिक सांसद बन्न पाउनु भएको थिएन ।

एमाले–माओवादी बीच एकीकरण भएर नेकपा बनेको थियो । सो नेकपमा उहाँलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो । त्यसका साथै उहाँलाई मधेश प्रदेश सम्पर्क मञ्चको अध्यक्ष पनि बनाइएको थियो । नेकपामा उहाँ सक्रिय भएर लागेर संगठन निर्माण तथा पार्टीले तोकेको अन्य जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुभयो ।

२०७७ मा नेकपा विभाजन भयो । विभाजनपछि माओवादी केन्द्रको महाधिवेशन भयो । त्यो महाधिवेशनबाट सुनिता यादवलाई केन्द्रीय सदस्यको जिम्मेवारी दियो । पार्टीका केन्द्रीय सदस्यका साथै अन्य भौगोलिक जिम्मेवारी लिएर पार्टीमा उहाँ सक्रिय भएर काम गरिरहनु भयो । पार्टीले मधेश प्रदेशमा उहाँलाई समानुपातिकबाट प्रदेश सभामा पठाइएको छ ।

सुनिता यादवका एकजना छोरी र एकजना छोरा छन् । १३ वर्षीय इच्छा यादव कक्षा ७ मा पढिरहेको छ भने सात वर्षीय आयुष यादव २ कक्षामा पढि रहेको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार