यसकारण मेरो प्रिय भए बाबुराम

15
VIEWS

यसकारण मेरो प्रिय भए बाबुराम

प्रतिक भट्ट

मेरो जन्म विसं २०५६ मा भएको हो । मेरो जन्म समय र तत्कालिन नेकपा माओवादीको तमुवान राज्य समितिको मुखपत्र ‘राष्ट्रिय स्वाभिमान’ साप्ताहिकको पहिलो अंक एकै दिन अर्थात भाद्र १७ गते नै प्रकाशित भएको थियो । त्यो बेला देशमा माओवादी जनयुद्ध चलिरहेको थियो ।

आतंककारी तथा विध्वंसात्मक कार्य नियन्त्रण ऐन जारी भएका कारण कसैले पनि खुला रुपमा माओवादी बारे लेख्‍ने, बोल्ने र वकालत गर्ने अवस्था थिएन । तर, त्यही समयमा प्रकाशित भएको राष्ट्रिय स्वाभिमान साप्ताहिकले माओवादी आन्दोलनको समाचार छाप्‍ने रहेछ त्यो कुरा मैले ‘क…ख…’ पढ्न सक्ने भएपछि थाहा पाएँ ।

२०५८ जेठ १९ गते राजा बिरेन्द्रको बंशनास भएको केही समयपछि देशमा माओवादी आन्दोलन झन चर्किएर गएको रहेछ । त्यही साल मंसिर ८ गते पहिलोपटक माओवादी छापामारले तत्कालिन शाही नेपाली सेनाको दाङ र स्याङ्जा ब्यारेक आक्रमण गरेपछि देशमा ‘संकटकाल’ सुरु भएको थियो । त्यो कुरा मैले पछि मात्रै जान्ने मौका पाए ।

तर, देशमा संकटकाल लागेपछि मेरो घरमा नेपाल प्रहरी र शाही नेपाली सेनाको ‘सर्च’ र खानतलासी भइरहने कुरा चाहिँ मैले मेरो आमाबाट पछि सुनेर थाहा पाए । म २ वर्षको हुँदा राति १ बजे मेरो घरमा सेनाले सर्च गरेको र मलाई समेत लछारपछार पारेको कुरा सुनेपछि म पनि युद्धको बेला पीडित भएको रहेछु भन्ने मस्तिष्कमा परेको थियो ।

जब मभित्र देशको भुगोल, इतिहास र राजनीतिक घटनाक्रम जान्‍ने उत्सुकता बढ्दै थियो त्यही समयमा देशमा संविधानसभाबाट संविधान लेख्‍ने तयारी हुँदै थियो । मैले त्यही बेलादेखि नेपालको राजनीति र राजनीतिक नेतृत्वलाई नजिकबाट बुझ्‍ने मौका पाएँ । २०६४ सालको संविधानसभा निर्वाचनका बेला म सानै भएकाले घट्नाक्रम आफैंले भोग्ने भन्दा अग्रजबाट सुन्ने र केही पढेर जान्ने मौका मिल्यो । त्यसपछिका प्रायः घटना आफैंले नजिकैबाट भोग्ने अवसर मलाई थियो ।

राजनीति र पत्रकारीतामा मेरो अभिभावक नै संलग्‍न भएका कारण घरमै पनि मैले धेरै कुरा प्राप्त गर्न सक्थे । खासगरी तत्कालिन राजा स्व.वीरेन्द्रको परिवार नै सिध्याउने गरी भएको दरबार हत्याकाण्डबारे पहिलोपटक मैले डा.बाबुराम भट्टराईको २०५८ जेठमा कान्तिपुरमा प्रकाशित लेख ‘नयाँ कोतपर्वलाई मान्यता दिइनु हुँदैन’ पढ्न पाएँ । त्यही बेलादेखि मलाई डा.बाबुराम भट्टराई एक अद्भुत क्षमता भएका र देशलाई दिशानिर्देश गर्न सक्ने दुरदर्शि नेता हो भन्ने लागेको थियो । मैले उनका लेख, अन्तर्वार्ता र रेडियो अनि टेलिभिजनको पर्दामा तर्कपुर्ण बहस पनि सुनेको र देखेको थिए ।

खासगरी २०५० जेठ ३ को मदन-आश्रीत हत्याकाण्ड, २०५२ साल फागुन १ देखि सुरुभएको माओवादी जनयुद्ध, २०५८ को दरबार हत्याकाण्ड, २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन, २०६४ र ०७० को संविधानसभा निर्वाचन बारे जान्ने मेरो कौतुहलता थियो । त्यसैले यी सबै विषयको खोजी र अध्ययन गर्दै जाँदा मैले त्यो समय देश विदेशमा समेत चर्चा पाएका तात्कालिन माओवादी नेता डा.बाबुराम भट्टराईबारे पनि धेरै अध्य्यन गरे ।

संयोग नै भनौं २०७२ साल असोज ३ गते गणतन्त्र नेपालको संविधान जारी हुँदा मैले बाबुरामको बिचार र क्षमता जान्ने मौका पाए । उनले त्यतिबेला संविधान सभाबाट संविधान त बन्यो तर ‘यो संविधान आधा गिलास भरी मात्रै हो’ भनेका थिए । त्यतिबेला यो कुरा बोल्दा बाबुरामलाई धेरैले गाली गरे तर आज उनै बाबुरामले भनेजस्तै संविधान पुर्ण नभएको कुरा सबैले स्वीकार्न बाध्य भए । त्यही घटनाले पनि म जस्ता युवालाई धेरै कुरा सिकाउन र बुझाउन सक्ने र पछी सम्मको देख्न सक्ने दुरदर्शी नेता बाबुराम नै हुन् भन्‍ने मलाई लाग्थ्यो ।

२०२६ सालमा गोर्खाको ग्रामीण भेकको स्कुलबाट एसएलसी बोर्डफस्ट भएका बाबुरामले जनयुद्धलाई देश/विदेशसम्म चिनाएको कुरा, जनयुद्धको समयमा शान्ति वार्तामा बसेको कुरा, विस्तृत शान्ति सम्झौता, संविधानसभा निर्वाचन, समावेशी समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता, जनताबाट प्रत्यक्ष निर्वाचित कार्याकारीको कुरा र समग्र देश विकासका लागि ‘आर्थिक समृद्धि’लाई जोडेर गरिएको प्रयत्‍नबारे मलाई ज्ञान हुँदै गयो ।

संविधान लेखनमा मुख्य भुमिका भएका बाबुरामले संविधान जारी भएलगत्तै पुरानो पार्टी माओवादी छाडेर आर्थिक समृद्धि र विकासको नारासहित ‘नयाँ शक्ति’ गठन गर्दा म उत्साही थिएँ । उनले त्यतिबेला भनेका थिए ‘हामीले धेरै राजनीतिक क्रान्तिको नेतृत्व गर्यौ र त्यसले परिवर्तन पनि ल्यायो । अब राजनीतिक क्रान्ति भन्दा आर्थिक क्रान्तिमा लागौं र देशलाई समृद्ध बनाऔं’ । उनको यो प्रयत्नमा पुराना पार्टीहरु खासगरी काङ्ग्रेस, एमाले र माओवादीमध्येबाटै कैयौं बाधा व्यवधान खडा गरिए । उनको सपनालाई साकार बनाउन हामी जस्ता युवाले समेत साथ दिन नसक्नु र नखोज्नु अहिलेको राजनीतिक अस्थिरताको एउटा कारण हुनसक्छ भन्ने मलाई लागेको छ ।

म कहिलेकाहीँ सोच्‍ने गर्दछु कि हरेक कुरालाई जनताको पक्षमा सोचेर बोल्ने दुरदर्शी नेता भएर पनि बाबुरामलाई अनेकथरी आरोप किन लाग्छन् ? बाबुरामभित्र के त्यस्तो खराबी छ ? बाबुराम भ्रष्ट छैनन्, बाबुराम हावादारी छैनन्, बाबुरामको विदेशमा सम्पत्ति र स्वदेशमा आलिशान महल छैन, बाबुराम तामझामसँग सडक जाम गरेर हिँड्दैनन र आफू भिआइपी हुँ पनि भन्दैनन अनि बाबुराम जे देख्छन् त्यही बोल्छन् । के यही नै बाबुरामको खराबी वा अवगुण हो त ? यस्तै खाले प्रश्नको जवाफ खोज्न मैले बाबुरामसँग भेट्ने इच्छा देखाएँ, जुन कुरा मलाई सहजै प्राप्त भयो ।

एक विहान पोखराको एउटा क्याफेमा मैले बाबुरामलाई सहज रुपमा भेट्न सकें । देशको राष्ट्रपति वा प्रधानमन्त्रीको सवारीका कारण आफ्नै स्कुलबस जाममा परेको भोगेको मैले एकपटक प्रधानमन्त्री भैसकेका बाबुरामलाई यसरी भेट्नु मेरो लागि अचम्मको कुरा थियो । त्यसमा पनि मैले भेट्नको लागि न समय लिएको थिएँ, न उनका कोही सहयोगीको मद्दत नै मागेको थिए । यति सहज रुपमा मैले कुनैपनि नेता भेटेको थिइनँ ।

बाबुरामलाई भेट्न जति सहज भयो त्यो भन्दा बढी मलाई उनको सादगी जीवन, भद्र अनि शालिन व्यक्तित्व र बौद्धिकता देखेर आश्चर्य लाग्यो । म उनको कार्यकर्ता वा नातेदार पनि थिइनँ तर उनले मलाई सँगै बसाए र मेरो पढाई, मेरो उदेश्य अनि मेरो सामान्य कुरामा समेत चासो राखे । मलाई लाग्यो देशको लागि चाहिने र हामी जस्तो युवालाई बाटो देखाउन सक्ने दुरदर्शी नेता यस्तै हो । त्यसपछि मैले बाबुरामलाई गाली गर्नेहरुको बारेमा अध्ययन गरे । अनि मलाई लाग्यो बाबुरामले गाली खानुको कारण केही रहेनछ, वा गाली गर्नेले पनि किन गाली गरेको भन्ने जवाफ दिनसक्ने अवस्था नै रहेनछ ।

उनी दुरदर्शी र देशलाई साँच्चिकै माया गर्ने पात्र रहेछन् । सायद त्यही कुरामा उनले गाली खाएका हुन् भने यस्ता नेतालाई सामाजिक सञ्जालमा गाली गर्नेहरु प्रतिचाहिँ मलाई टिठ लाग्यो । ‘कुकुरले मान्छे नचिनेर नै बढी भुक्छ’ भन्ने नेपाली उखान जस्तै बाबुरामलाई नचिन्ने जमात वा बाबुरामबारे भ्रम छर्न कतैबाट उत्तेजित बनाइएका पात्रहरूको झुन्ड नै सामाजिक सञ्जालमा मच्चिएको जस्तो मलाई लाग्यो । कतिपय फेक आइडीबाट बाबुरामलाई गाली गरेबापत राम्रै सहयोग पाइरहेको जमात मात्रै त्यसमा सक्रिय रहेको बुझ्न मलाई चाहिँ कठिन भएन । त्यसैले मैले त्यो जमातले सामाजिक सञ्जालमा गर्ने कमेन्ट र चिच्याहट सुन्नै छाडिदिएँ ।

आफू अर्थमन्त्री र छोटो समय प्रधानमन्त्री हुँदा नै देशको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनाउन खोज्ने बाबुरामलाई म जस्ता युवाले गाली गर्ने होइन उनीबाट सिक्ने कुरा धेरै छन् । देशमा बढ्दो बेरोजगारी हटाउन हरेक वडाबाट २/४ जना मलेसिया पठाइदिउला भन्ने प्रथम महिला वा ‘बिना ढेउवा के फ्री भिसा, फ्री टिकट’ भन्ने पुर्व प्रधानमन्त्रीभन्दा बढी गाली स्वदेशमै उत्पादन र रोजगारमुखी योजना ल्याउँछु भन्ने बाबुरामले किन खाइरहेका छन् ? म जस्तो युवालाई यसको जवाफ कसले दिने ?

हरेक महिना आफ्नो क्षेत्रमा पुग्ने र देशका हरेक भुगोलसंग परिचित भई जनताको सुख/दु:ख बुझ्ने, आफ्नै सम्पत्ति छानबिन गर्न संसदको रोस्ट्रममा उभिएर भन्न सक्ने बाबुरामलाई अनेकथरी आरोप लगाउने हो भने हामीले कस्तो नेतालाई देश जिम्मा लगाउने ? पुनस्र्त्थानवादी शक्ति र अराजक शक्तिलाई देश जिम्मा लगाउने कि यति, ओम्नी, लाउडा, बालुवाटार जग्गा प्रकरण र औषधि खरिदमा समेत भ्रष्टाचार गर्नेलाई जिम्मा दिने ?

‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन !’ भन्ने बाबुरामलाई राजनीतिबाट विस्थापित गर्ने कि सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूलाई देशको भवीस्य जिम्मा लगाउने ? राजनीतिलाई कमाइ खाने भाडो बनाउनेलाई शासन गर्न दिने कि समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो भन्नेलाई देश निर्माणको जिम्मेवारी दिने ? यो सवालको जवाफ अबको युवाले खोज्नुपर्छ ।

बाबुरामले जम्मा ९ महिना अर्थमन्त्री हुँदा नेपालकाे आन्तरिक श्राेत व्यवस्थापनवाट अर्थव्यवस्थामा गरेको सुधार र प्रधानमन्त्री हुँदा काठमाडौं लगायत देशका विभिन्न ठाउँको सडक फराकिलो बनाउने कार्यको मुल्यांकन गर्नुको सट्टा हामी युवाले उनलाई राजनीतिबाट पाखा लगाउनु बाबुरामको लागि भन्दा पनि देशको लागी हित होला त ?

देशमा अरु पूर्व प्रधानमन्त्रीले दर्जनाैं सुरक्षाकर्मीकाे अघिपछि तामझामका साथ हिँड्दै गर्दा जम्मा एकजना सुरक्षाकर्मी (पिएसओ)काे भरमा नागरिककाे घरदैलाे सम्म पुग्ने बाबुरामबाट हामी युवाले केही सिक्नुपर्ने होइन र ? अनि संसदकाे राेष्ट्रममा उभिएर कतै म दाेषी भए कारवाहीकाे भागिदार हुन्छु भन्ने व्यक्ति हाम्रो रोजाइ हो कि अनेकौं कान्डमा नाम जोडिएका नेता हाम्रो रोजाइ हो ?

हामीले कम उमेरको युवालाई पार्टीको नेतृत्व वा युवालाई प्रधानमन्त्री चाहियो भनिरहदा देश विकासमा उमेरको मात्रै नयाँ होइन ! सोच, विचार, दर्शन र चेतना पनि नयाँ र युवा हुनुपर्छ भन्ने भुलेका छौं कि ? अहिलेको अवस्थामा हामी जत्तीको युवाले यत्ति कुरा मात्रै बुझ्न खोजियो भने पनि साच्चिकै यो देश र जनताको हँसिलो मुहार देख्‍न पाइनेछ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार