तपाईंहरूलाई बाबुरामको पत्र 

28
VIEWS
कार्तिक ८, २०७९

तपाईंहरूलाई बाबुरामको पत्र

आदरणीय आमाबुबा, दिदीबहिनी र दाजुभाइहरू,

चार दशकभन्दा लामो मेरो राजनीतिक जीवन यहाँहरूका बीचमा खुला पुस्तक जस्तै छ । देशभित्रको विपन्नता, विभेद, निरङ्कुश, अवसरको असमानता र भ्रष्टाचारले रन्थनिएको मेरो युवा मस्तिष्क अध्ययनका क्रममा भारत पुगेपछि त्यहाँका नेपालीको दुःख र वेदना देखेर अझ विचलित भयो । एउटा इन्जिनियरका रूपमा केही घर र संरचना बनाएर पुग्दैन,सिंगो देश नै बदल्नु र बनाउनुपर्छ भन्ने निष्कर्ष लिएर म नेपाल फर्किएँ । यसबीचमा नेपालको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणका लागि मैले अग्रसरता लिएका विभिन्न राजनीतिक प्रयोगहरू पनि सबैसामु नै छन् । अहिले म यो चुनावी अभियानबाट अलग भएको छु तर राष्ट्र परिवर्तनको जुन आवेग र संकल्पले मलाई राजनीतिमा ल्यायो, रूपान्तरणकारी राजनीतिको त्यो प्रतिबद्धतामा म अहिले पनि उत्तिकै कटिबद्ध छु ।

आदरणीय देशवासी,

जययुद्ध, जनआन्दोलन, मधेस विद्रोह र उत्पीडीतहरूका संघर्षका बलमा नेपाल लोकतन्त्रको राजमार्गमा त प्रवेश गरेको छ तर औपचारिक लोकतन्त्रलाई पूर्ण लोकतन्त्रमा लैजान बाँकी नै छ । संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी नभएसम्म अस्थिरताको समाधान खोज्न सकिन्न ।

भर्भराउँदो युवा पुस्ताको राजनीतिक सक्रियता हिजोका संघर्षहरूकै परिणाम हो । सधैं युवा पुस्तालाई साथ र सम्मान दिँदै आएको म एउटै अपिल गर्न चाहन्छु, इतिहासको जगमा टेकेर तपाईंहरू अघि बढ्न सक्नुहुन्छ, इतिहासप्रति घृणामा उभिएर होइन, अग्रगमनको यात्राप्रति वितृष्णा होइन, ठोस प्रतिबद्धताले मात्रै युवापुस्तालाई रूपान्तणकारी राजनीतितिर लैजान्छ ।

प्रगतीशील राष्ट्रवादमा आधारित स्वाधीनता, संघीयताको सुदृढीकरण अनि समावेशी समानुपातिक सहभागितामूलक लोकतन्त्र हाम्रो लक्ष्य हुनुपर्छ । नैतिक नेतृत्व, सुशासन र सदाचार हाम्रो संकल्प हुनुपर्छ । सडक, सदन र सरकारका मोर्चाहरूबाट एकीकृत रूपान्तरणकारी अभियानले मात्र हाम्रो लक्ष्य प्राप्त हुनसक्छ ।

आदरणीय जनसमुदाय,

सम्भावनापूर्ण व्यावसायिक ‘करिअर’ लाई छोडेर पूर्णकालीन राजनीतिमा होमिँदा, जनयुद्धको नेतृत्व गर्दा वा शान्तिप्रक्रियामा सहभागी हुँदा पनि म कहिल्यै निजी आकांक्षाले प्रेरित भइनँ । एउटा सामान्य किसानको छोरो देशवासीको प्रेम पाएर प्रधानमन्त्रीसमेत बनेँ । त्यो प्रेमको ऋण तिर्न मेरो बाँकी जीवन पनि राष्ट्र निर्माणमै समर्पित गर्ने मेरो संकल्प छ । हामीले राजनीतिक क्रान्ति आधारभूत रूपमा पूरा गरेका छौं । अब हाम्रै जीवनकालमा आर्थिक क्रान्ति गरेर समतामूलक समृद्धिको प्रत्याभूति मेरो जीवनको लक्ष्य हो ।

यो आम निर्वाचनमा प्रतिगमनकारी शक्तिहरूकाविरुद्ध अग्रगमनकारी शक्तिहरूलाई विजयी गराएर त्यो दिशामा अघि बढ्न योगदान गर्नुहुनेछ भन्ने हार्दिक आग्रह गर्दछु ।

धन्यवाद !

डा.बाबुराम भट्टराई 
अध्यक्ष 
नेपाल समाजवादी पार्टी  

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार