तर, उहाँको सहादत क्रान्तिका लागि रक्तबीज बनेर जनयुद्धको दावानल देशैभरि फैलियो । त्यसैले उहाँ विशेष रूपले स्मरणीय, श्रद्धेय र अभिनन्दनीय हुनुहुन्छ ।
२०५१ साल भदौ १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्दलाई सफल पार्दै जनकपुरबाट फर्कने क्रममा भोलिपल्ट २ गतेका दिन तत्कालीन शाही सेना तथा प्रहरीले नेपाली कांग्रेसको इशारामा नेपाली क्रान्तिकारी आन्दोलनका एक कहिल्यै नअस्ताउने चम्किला तारा महान् शहीद क. रामवृक्ष यादव (मास्टर साहेब) को षड्यन्त्रपूर्वक हत्या गरेका थिए । ‘महान् जनयुद्ध’को तयारीमा जुटिरहेका बेला पार्टीका केन्द्रीय सदस्यसमेत रहेका यादवलाई ‘जनयुद्ध’ सुरु हुनुअघि नै क्रूरतापूर्वक हत्या गरिएको थियो ।
धनुषाको बर्मझियाको मध्यम किसान परिवारका पिता रामलखन यादव र आमा सम्पत्तिदेवी यादवको कोखबाट २००३ सालमा जन्मिनुभएका रामवृक्ष यादवले २०२२ सालमा मेट्रिक परीक्षा उत्तीर्ण गरेर वीरगञ्ज ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो र आफ्नै गाउँमा रहेको प्राथमिक विद्यालयमा केही समय प्रधानाध्यापक पनि हुनुभयो । २०२२ सालमा नै रामकुमारी यादवसँग उहाँको विवाह भयो । ‘पार्टी नै मेरो लागि सबथोक हो’ भनी आफ्नो जीवन समर्पित गरी क्रान्तिका लागि हिँडिराख्नुभएका यादव साँच्चिकैको लडाकु, संघर्षशील, क्रान्तिकारी नेता, लेखक, गायक र संगीतवादक हुनुहुन्थ्यो ।
रत् रह संघर्ष में जीवन संघर्ष हैं ।
कुर्बान हो जो देश पे यही तो उत्कर्ष हैं ।
दबके ना रहना कभी, यही तो निष्कर्ष हैं ।
वह वक्त ही महान् है जहाँ उत्सर्ग है ।
– शहीद रामवृक्ष यादव
घरपरिवार, विद्यालयहुँदै राजनीतिमा प्रवेश गर्नुभएका यादव वि.सं. २०२९ सालमा नेकपा (चौम) को सम्पर्कमा पुग्नुभयो । २०३० सालमा मजदुर आन्दोलनमा सक्रिय भूमिका खेल्दै सिरहा, धनुषा, सर्लाही, महोत्तरीलगायत तराईका विभिन्न जिल्लामा सक्रियताका साथ लाग्नुभयो । उहाँको यस्तो सक्रिय भूमिकाले शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै तत्कालीन राज्यले जेल सजाय दियो ।
२०५१ साल भदौ २ गते जनकपुरबाट फर्कने क्रममा तत्कालीन शाही सेना तथा प्रहरीले नेपाली कांग्रेसको इशारामा क. रामवृक्ष यादव (मास्टर साहेब) को षड्यन्त्रपूर्वक हत्या गरेका थिए । ‘महान् जनयुद्ध’को तयारीमा जुटेका उनलाई ‘जनयुद्ध’ सुरु हुनुअघि नै क्रूरतापूर्वक हत्या गरिएको थियो ।
रामवृक्ष यादवका कारण बरमझिया गाउँका सम्पूर्ण नागरिक तत्कालीन प्रशासनबाट पीडित थिए । २०३० कात्तिकमा जेलमुक्त भएपछि नेकपा (चौम) ले उहाँको कामबाट प्रभावित भएर २०३१ मा पार्टीको संगठित सदस्यता दियो ।
तत्कालीन सरकारले कम्युनिस्ट पार्टीसँगको संलग्नता थाहा पाएपछि यादवलाई जागिरबाट निष्कासन गरिदियो । उहाँलाई राजनीतिक प्रतिशोधका आधारमा राजकाज अपराधअन्तर्गत २०३५ पुस १ देखि २०३७ वैशाख ५ गतेसम्म पुनः जेल हालियो । पछि राजबन्दी रिहाइमा उहाँ छुट्नुभयो । बहुदलको हार र निर्दलको जितपछि रामवृक्ष यादवको घर तोडफोड भयो । उहाँको सम्पत्ति लुटियो । त्यसपछि रामवृक्ष यादव भूमिगत हुन बाध्य हुनुपरेको थियो ।
२०४१ सालमा भएको पाँचौँ महाधिवेशनपछि पार्टी विभाजन हुँदा उहाँले नेकपा (मसाल) को केन्द्रीय सदस्यको जिम्मेवारी पाउनुभयो । उहाँलाई फेरि षड्यन्त्रपूर्ण ढङ्गले २०४५ साल जेठदेखि २०४८ सालसम्म कर्तव्यज्यान मुद्दाअन्तर्गत जेलमा हालियो । पछि २०५१ भदौ १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्दलाई जनकपुरबाट सफल पारेर फर्कने क्रममा भोलिपल्ट अर्थात् भदौ २ गते उहाँको हत्या भयो ।
पछि जनयुद्धमा सामेल भएका उहाँका एक मात्र छोरा शेखर यादवको पनि २०५८ सालमा हत्या भयो । २०५९ मा उहाँका छोरीज्वाइँ डम्बर यादवको सहादत भयो । पछि २०६७ सालमा उहाँकी श्रीमती माननीय सांसद एवम् तत्कालीन एनेकपा (माओवादी) की केन्द्रीय सल्लाहकार रामकुमारी यादवको पनि सिलिन्डर पड्किएर दु:खद अवसान भयो ।
आज उहाँका सन्तानको रूपमा चार जना छोरीहरू हुनुहुन्छ । र, उहाँहरूमध्ये दुई जना अहिले पनि नेकपा (माओवादी केन्द्र) को नेतृत्व पंक्तिमा हुनुहुन्छ । एक जना शिक्षा, विज्ञान तथा प्रविधि माननीय राज्यमन्त्री श्री बोधमायाकुमारी यादव हुनुहुन्छ । अर्को नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय सदस्य सुनिता यादव हुनुहुन्छ । अर्को दुई जना सुधा यादव र कल्याणी यादव हुनुहुन्छ । उहाँहरू पनि पार्टीकै सक्रिय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।
नेपालमा जनयुद्ध सुरुवातको समयमा केन्द्रीय तहबाट भएको यो ठूलो बलिदान थियो । तराई मधेसमा माओवादीको प्रभाव विस्तार रोक्ने देशी–विदेशी षड्यन्त्रमा यादवको हत्या भएको माओवादी निष्कर्ष थियो । नेकपा (माओवादी केन्द्र) ले प्रत्येक वर्ष भदौ २ गते रामवृक्ष यादव (मास्टर साहेब) को स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ । त्याग, बलिदान र उत्सर्गको अभूतपूर्व कीर्तिमान कायम गरेका महान् शहीद रामवृक्ष यादवप्रति भावपूर्ण श्रद्धाञ्जलि ।
Discussion about this post