प्रदीप दाइसँग मेरो वार्ताको निष्कर्ष : देशमै बसेर काम गर्ने, झन् ठूलो क्रान्ति हुनसक्छ

12
VIEWS
प्रदीप दाइसँग मेरो वार्ताको निष्कर्ष : देशमै बसेर काम गर्ने, झन् ठूलो क्रान्ति हुनसक्छ
किशोर नेपाल
साउन १८ , काठमाडौँ
मुम्बइको हिन्दुजा अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर घर फर्किँदै गर्दा छातीमा निमोनियाको संक्रमण देखिएपछि प्रदीप गिरिलाई मेडिसिटी अस्पताल लगियो। त्यहाँ उहाँको सघन उपचारपछि अहिले निमोनियाको संक्रमण कम भएको छ। उहाँको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार गिरिको स्वास्थ्य स्थिति सामान्य हुन थालेको छ।
यसपटक प्रदीप गिरि बिरामी पर्नुहुँदा नेपाली जनताले उहाँको स्वास्थ्यप्रति देखाएको चासो अप्रतिम थियो। जसरी उहाँको स्वास्थ्य नेपाली समाजमा चातुर्दिक चर्चाको विषय बन्यो, त्यो असामान्य थियो। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पहुँच भएका हरेक नेपालीले गिरिको सुस्वास्थ्यका लागि प्रार्थना गरे। यसले नेपालको राजनीतिमा गिरिको अतुलनीय योगदानलाई साबित गर्यो। उहाँको ज्ञान, विवेक र न्यायप्रियतालाई समाजले मान्यता दियो।
समाजवादी चिन्तकका रूपमा सुपरिचित व्यक्तित्व प्रदीप गिरि नेपाली कांग्रेसको राजनीतिमा युवावस्थादेखि नै सक्रिय हुनुहुन्छ। झण्डै पाँच दशकअघि उहाँले मेची–महाकालीमा फैलिएका नेपाली युवाहरूको चिन्तन प्रक्रियामा लोकतान्त्रिक समाजवादी विचारको बीजारोपण गर्न थाल्नुभएको थियो। भारतका समाजवादी चिन्तक डा.राममनोहर लोहियाका समाजवादी विचार र चिन्तनले प्रभावित हुनुभयो– प्रदीप गिरि।
डा. लोहियाको प्रसंगसँग म आफैँ पनि जोडिएको छु। तिनताका मेरो उमेर १६ वर्ष पनि पुगेको थिएन होला। १६ वर्ष उमेर नपुगेका नागरिकले सरकारी जागिर खान पाउँदैनथ्यो। ८ कक्षा उत्तीर्ण गरेका ठिटाहरूको ‘बहिदार’ पदमा जागिर खाने योग्यता पुग्थ्यो। मुखियामा जागिर खान १० कक्षा उत्तीर्ण गर्नुपथ्र्यो। मुखियामा जागिर खाने योग्यता थियो मेरो। तर जागिर खाने कुरामा मेरो रुचि र विश्वास दुवै थिएन। पुस्तक र पत्रपत्रिकाको पठनपाठनमा मेरो गहिरो रुचि थियो। काठमाडौंको बजारमा भारतको दिल्ली र तत्कालीन बम्बई सहरबाट प्रकाशन हुने साप्ताहिक दिनमान, धर्मयुग, कादम्बिनी, सारिका, नवनीत, ज्ञानोदयजस्ता पत्रपत्रिका निकै चर्चित थिए।

यी पत्रिका नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालयमा पाइन्थे। अहिले नेपाल वायुसेवा निगमको भवनमा रहेको यो पुस्तकालय डिल्लीबजार हुँदै पुतलीसडकतिर जाने ओरालोको दक्षिण लंगमा थियो। पुस्तकालय नेपाल–भारतमैत्री संघले सञ्चालन गरेको थियो। संघका अध्यक्ष हुनुहुन्थ्यो– कृष्णप्रसाद रिमाल।

म त्यो पुस्तकालयको सदस्य थिएँ। घण्टौँ त्यहाँ बसेर पढ्नुको रमाइलो नै अर्कै हुन्थ्यो। त्यहाँ म प्रायः जन र दिनमान पत्रिका पढ्ने गर्थे। ‘जन’ डा. राममनोहर लोहिया नेतृत्वको संयुक्त समाजवादी पार्टीको मुखपत्र थियो। ‘दिनमान’ दि टाइम्स अफ इन्डियाको साप्ताहिक प्रकाशन थियो।

जन पढ्दापढ्दै म डा. लोहियाका समाजवादी विचारबाट निकै प्रभावित भएको थिएँ। मैले उहाँलाई नेपालको राजनीतिक अवस्थाको वर्णन गर्दै एउटा चिठी लेखें। तर, त्यो चिठी चिठी होइन, तोपको गोला साबित भयो। दुर्भाग्य! समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा त्यो चिठी पुगेको अघिल्लो दिन डा. लोहियाको निधन भएको थियो। समाजवादी पार्टीका नेताहरूले त्यो चिठी खोलेर पढेछन् र भावुक भएछन्। ‘जन’ पत्रिकाका प्रधान सम्पादक ओमप्रकाश दीपकले त्यो चिठी प्रदीप दाइलाई सुम्पिएछन्। प्रदीप दाइ काठमाडौं आएर मलाई खोज्नुभयो, भेट्नुभयो। हामी सँगै गिरफ्तार भयौं। जेल गयौं।

त्यसपछि मेरो यात्राको बाटो बदलियो। म पूर्णकालीन कार्यकर्ता बनेँ। कार्यकर्ता बने पनि, ममा पढ्ने–लेख्ने र पत्रकारिता गर्ने जोश थियो। प्रदीप दाइले मेरो त्यो जोशलाई प्रोत्साहन गर्नुभयो। म राजनीतिको सक्रिय धारबाट बाहिर निस्किएर पत्रकारितामा सक्रिय भएँ। सन् १९६७ देखि १९८३ सम्म मैले साप्ताहिक दिनमानको नेपाल संवाददाताका रूपमा काम गरेँ। यो अवधिमा राष्ट्रिय/अन्तर्राष्ट्रिय जगतका पत्रकारहरूसँग ‘यारी–दोस्ती’ भयो।

प्रदीप दाइको प्राथमिक रुचि हो– साहित्य। त्यसपछि उहाँको झुकाव अध्यात्ममा छ। राजनीति उहाँको तेस्रो रुचिमा पर्छ। तर, संयोग–  उहाँको चर्चा राजनीतिकै कारण बढी हुने गर्छ। राजनीतिमा घुमाइफिराइ कुरा नगर्ने, मन्त्री हुने मोह कहिल्यै नराख्ने, पार्टीको ह्विपको चिन्ता नगरी आफ्नो अन्तरआत्माको आवाज बोल्ने को होला र आजको राजनीतिमा? तर, प्रदीप दाइमा मैले सत्ताको लोभ देखेको छैन। त्यसबाट उत्पन्न हुने विकारबाट उहाँ निकै टाढा हुनुहुन्छ।

साहित्यमा प्रदीप दाइको सुरुचिको परिचय बनारसबाट निस्किने साहित्यिक पत्रिका ‘रहर’ले दिन्छ। रहरको सृष्टि प्रदीप गिरि र चक्र बाँस्तोलाबाट भएको थियो। यो पत्रिकाको ख्याति अहिले पनि मेटिएको छैन।

‘नयाँ पुस्ताका मानिसले प्रदीप गिरिलाई राजनीतिज्ञका रूपमा होइन, देशको सच्चा हितका लागि विचार गर्ने विचारक र दार्शनिकका रूपमा हेर्छन्’, केही समय प्रदीप दाइले स्थापना गरेको वस्तीपुर आश्रममा बसेर फर्किएकी रुचि श्रेष्ठ भन्छिन्, ‘प्रदीप दाइमा वैचारिक दृढता र दूरदर्शिता छ र छ– बलियो दार्शनिक आधार। यसको अभावमा कुनै पनि देशले विकास गर्न सक्दैन। त्यसैले उहाँको विचार र दर्शनको अनुगामी हुनुपर्दछ हाम्रो युग। यो आश्रमको हरियाली हेर्नुहोस्, बोटबिरुवा र मानिस सबै समावेशी छन् यहाँ।’

प्रदीप गिरिको विचारमा कठोर मानिस बन्न सजिलो छ। तर, साधारण मानिस बन्न कठिन छ।

प्रदीप दाइ वातावरण मुखर व्यक्ति हो। उहाँ जीवन र जगतको प्राकृतिक शैलीलाई यथावत् रहन दिनुपर्ने मान्यता राख्नुहुन्छ। स्वास्थ्योपचारका लागि मुम्बई जानुअघि निजगढ विमानस्थलको प्रसंगमा उहाँले लाखौं रुख काटेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनाको निरर्थकता बताउनुभएको थियो। रुख–बिरुवा विनाश गर्ने र जनावरहरूको जंगल विचरणको अधिकार अपहरण गर्ने कुनै काम गर्न नहुने पक्षमा हुनुहुन्छ, प्रदीप दाइ। एन्टोनियो ग्राम्सीले भनेजस्तै, प्रदीप दाइ पनि अहिलेको दुनियाँ देखेर ‘दिमागले निराशावादी र दिलले आशावादी’ हुनुहुन्छ।

उपचारका लागि मुम्बई जानुभन्दा केही समय पहिले प्रदीप दाइसँग समकालीन राजनीतिका केही गुढ प्रश्नको चर्चा भएको थियो। त्यतिखेर प्रधानमन्त्री पदको चर्चा हुँदा प्रदीप दाइले भन्नुभएको थियो : शेरबहादुर देउवा, रामचन्द्र पौडेल अथवा शेखर कोइराला – जोसुकै पनि यो सत्तामा जस्ताको तस्तै गएर यो राज्य संयन्त्रबाट केही गर्नसक्ने कुरा छैन। अब कोरोनाकालकै कुरा गरौं न। कोरोना संकटमा निकै अप्ठेरोपना देखियो। जनताले लाठीसमेत खानुपर्ने अवस्था आयो। कोरोनाबाट जनताको ज्यान जोगाइदिने भन्दै लाठी चलाएको परिदृश्य अहिले पनि मानिसको मनमा गढेर बसेको छ। राज्य भन्छ – हामीले तपाईंको ज्यान जोगाइदिन लाठीले हिर्काएको हो। यो वाक्य आफ्नो व्याकरणगत संरचनामा पनि दोषपूर्ण छ।

उहाँको भनाइ थियो– मानिसको सबभन्दा प्रिय वस्तु उसको ज्यान हो। मानिस मात्रै होइन, प्राणी मात्रको उद्देश्य ज्यान बचाउने नै हुन्छ। आफ्नो ज्यान जोगाउन मानिस हुन् कि जनावर – संघर्ष र प्रतिकार गर्न तयार हुन्छन्। उनीहरूमा चेतना अभाव हुनसक्छ। राज्यका सुरक्षा अंग र सञ्चारमाध्यमको काम उनीहरूलाई सचेत गराउने हो।

प्रदीप दाइको विचारमा अहिलेको समयको प्रमुख समस्या बुझ्न न वामदेवले सकेका छन्, न कामदेवले। एउटा क्रान्ति भयो। संसदीय लोकतन्त्र आयो। त्यतिले पुगेन, गणतन्त्र आयो। तैपनि आजको राज्य संरचनामा कुनै रूपान्तरण भएको छैन। चलनचल्तीको शब्दमा भन्दा राज्यसत्ता हस्तान्तरण भयो। रूपान्तरण भएको छैन। बारम्बार संघर्ष, क्रान्ति, विद्रोह भइसक्दा पनि किन हुन सकेको छैन रूपान्तरण?

‘सत्रौं/अठारौं शताब्दीमा बेलायत र फ्रान्समा चलेका कतिपय राजनीतिक विचारधारा तेस्रो विश्वको दुनियाँका लागि बिलकुलै उपयुक्त छैनन्। अहिले पनि हामी त्यो विचारधाराबाट अगाडि बढ्न सकेका छैनौं’, एउटा विशेष वार्ताका क्रममा प्रदीप दाइले मसँग भन्नुभएको थियो।

कार्ल माक्र्सले संसदीय व्यवस्थाको कडा आलोचना गरेका छन्। त्यो भन्दा पनि कडा भाषामा महात्मा गान्धीले आलोचना गरेका छन्– संसदीय व्यवस्थाको। गान्धी सम्पूर्ण शक्ति जनताको हातमा बुझाउने पक्षमा थिए। उनी भन्थे- शक्ति गाउँपालिकामा जानुपर्छ। केन्द्रले गाउँलाई सत्ता दिने भन्ने कुरै होइन। सत्ता त गाउँको हो। गाउँले नै केन्द्रलाई सत्ता दिने हो। गान्धीजीको परिकल्पना बृहत् थियो।

प्रदीप दाइको विचारमा – बजारमा सीमित सामान उपलब्ध छन्। उपभोक्ता त्यही सीमित सामान किन्न बाध्य छन्। राजनीतिमा पनि त्यस्तै छ। स्वतन्त्रताका नाममा खुलेका दुईवटा वा तीनवटा पार्टीमध्ये एउटालाई भोट दिन अभिशप्त छन् मानिस। लन्डनमा पनि यस्तै छ। कि लेबर छान कि कन्जरभेटिभ। अमेरिकामा पनि यही देखिएको छ। जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकारको कुरा आउँछ। तर, त्यो अभिक्रम कहीं सुरु हुँदैन।

यो अवस्थामा अब हामीले लिनुपर्ने बाटो के त प्रदीप दाइ? मेरो सामान्य प्रश्नमा प्रदीप दाइको जवाफ थियो – जनता ५ वर्षमा एकपटक चुनावको बेलामा पूजा गरिने सर्प होइनन्। त्यस्तो पूजा खाएर चित्त बुझाएर बस्नु उसको कमजोरी हो। नेपालमा स्थानीय सत्ता त आएको छ। स्थानीय सत्तालाई थोरबहुत अधिकार पनि दिइएको छ। स्थानीय जनप्रतिनिधिले ती अधिकार सन्तोषजनक रूपमा सदुपयोग गरेका छैनन्।

यसको कारण स्पष्ट छ। ठूला मानिसले जस्तो व्यवहार गर्छन्, सानाले त्यही सिक्छन्। अहिले राष्ट्रपतिको जुन रवाफ र फूर्ति छ, प्रधानमन्त्रीको जुन रवाफ र फूर्ति छ, त्यही रवाफ र फूर्ति गाउँका वडाध्यक्ष पनि गर्न चाहन्छन्।

राणा प्रधानमन्त्री पद्म शमशेर राणाले कुनै समय भनेका थिए, ‘म जनताको सेवक हुँ।’ पद्म शमशेरले मुखैले मात्र भए पनि त्यति त भनेका थिए। अहिलेका राष्ट्रपति, प्रधानमन्त्री र वडाध्यक्ष भन्छन् – म जनताको मालिक हुँ। जुन चुनावका माध्यमबाट देशमा मालिकवाद आउँछ, त्यसलाई समाप्त नगरेसम्म नयाँ नेपाल बन्दैन।

प्रदीप दाइसँग मेरो वार्ताको निष्कर्ष थियो : नेपालमा आजसम्म जति पनि संघर्ष र विद्रोह भएका छन्, ती झन् ठूला, झन् व्यापक र झन् बहुआयामिक क्रान्तिको पूर्वझिल्का मात्र हुन्। नेपालजस्तो देशको प्रत्येक पालिकाबाट कम्तीमा एक दर्जन युवाहरूमा ‘यो देश हाम्रो हो, हामीले अमेरिका गएर भाँडा माझ्ने र भारतमा गएर चौकीदारी गर्ने होइन, देशमा बसेर काम गर्ने हो’ भन्ने भावना नआएसम्म देशका समस्या हल हुन सक्दैनन्।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार